म्यानमार सेनाले प्रदर्शनकारीमाथि ‘गाडी चलाउँदा’ पाँच जनाको मृत्यु, १५ घाइते
अखबार टुडे
प्रकाशित:
२०७८, २० मंसिर

काठमाडौं, २० मंसिर (एजेन्सी) । म्यानमारमा सैन्य ‘कु’को विरोधमा सडकमा प्रदर्शनगरीरहेकामाथि सेनाले गाडी कुदाउँदा पाँच जनाको ज्यान गएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

रोयर्टसका अनुसार रङ्गुनमा आइतवार दिउँसो भएको घटनामा अन्य १५ जना घाइते भएका छन् । सैन्य ‘कु’को विरोधमा प्रदर्शन भइरहेको बेला सेनाको एउटा गाडी तीव्र गतिमा प्रदर्शनकारीहरूलाई किच्दै अघि बढेको रोयटर्सले जनाएको छ ।

म्यानमारको छाया सरकारले शान्तिपूर्ण प्रदर्शनकारीलाई सैनिक गाडीले कुल्चेर मारेको र गोली हानेको घटना हृदयविदारक भएको बताएको छ। सैनिकबाट भएको बर्बरतापूर्ण आतंकवादको बदला लिने उसले चेतावनी दिएको छ ।

म्यानमारमा गएको फेब्रुअरी १मा सेनाले प्रजातान्त्रिक सरकारलाई हटाएर सत्ता कब्जा गरेको थियो । सैन्य ‘कु’ पछि भएका प्रदर्शनमा सेनाले शक्ति प्रयोग गर्दा एक हजार तीन सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।

सैन्य सरकारले शान्तिपूर्ण प्रदर्शनमा गाडीले कुल्चिने र जथाभाबी गोली प्रहार गर्ने घटना पटक–पटक भएका छन् । प्रजातन्त्रवादी नेतृ आङ सान सुकीमाथिको एउटा मुद्दामा फैसलाको तयारी भइरहँदा प्रदर्शनहरू बढेका छन् ।

प्रतिक्रिया