काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीमा उत्पन्न परिस्थितिका कारण विभिन्न कालखण्डमा बाहिरिएका सम्पूर्ण नेता तथा कार्यकतालाई माउ पार्टीमा फर्कन आह्वान गरेका छन् ।
नवनिर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्य शपथ तथा प्रमाणपत्र वितरण समारोहमा उनले पार्टीभित्र कागजमा स्रेस्ता मिलाएर जिम्मेवारी दिने परम्परा तोडेर सङ्गठन विस्तारमा गरेको योगदानका आधारमा कार्यमूल्याङ्कन गरिने भएकाले पलायन भएका नेता तथा कार्यकर्तालाई राप्रपामै फर्केर काम गर्न आग्रह गरे ।
अध्यक्ष लिङ्देनले भने, ‘पार्टीका सम्पूर्ण जिम्मेवारीमा रहनेलाई काम नगरी बस्न नपाइने नीति अघि सारिनेछ, पार्टीलाई क्रियाशील र जीवन्त तुल्याउन सङ्गठन विस्तार र निर्वाचनमा प्राप्त परिणामका आधारमा जिम्मेवारी दिइनेछ, पार्टीका अग्रजको तुलनामा अनुभव कमी भए पनि इमान्दारी र निष्ठामा कमजोर नभएकाले सबैलाई समेटेर लैजाने मसँग क्षमता र मार्गचित्र छ ।’
उनले नेपाली राजनीतिमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने अग्रजको भावनाअनुरूप राप्रपालाई केन्द्रीय राजनीतिमा पु¥याउन तथा आफ्ना एजेन्डा स्थापित गर्न सडक र निर्वाचन दुवै अख्तियार गरी अघि बढ्ने घोषणा गरे ।