काठमाडौं, १९ मंसिर । राप्रपाको महिला महामन्त्री पदमा उम्मेदवार बनेकी नायिका रेखा थापले आफू पराजित भएपनि खुशी रहेको बताएकी छन् ।
थोरै मतान्तरले पराजित भए पनि जितको रुपमा लिएको बताउदै थापाले भने, ‘उहाँ राप्रपामा २० वर्षभन्दा लामो समयदेखि सक्रिय हुनुहुन्थ्यो, म चार वर्षअघि मात्रै राप्रपामा प्रवेश गरेको हुँ, तै पनि मलाई धेरै साथीहरुले मत दिनुभयो, म यसमै प्रसन्न छु’ ।
उनले अर्को पटक राप्रपामा आबद्ध सबैका प्रतिनिधिको मन जितेर नेतृत्वमा आउने पनि दाबी गरीन् । आफूलाई केहीले गणतन्त्रवादी भनेर प्रचार गरेका कारण पनि पराजित हुनु परेको उनको भनाई थियो । ‘मैले आफूलाई नेपालवादी भनेर मत मागेको थिएँ, तर केहीले मलाई गणतन्त्रवादी भनेर प्रचारबाजी गरे, यसले पनि मेरो मत केही कम आयो’ थापाले भनीन् ।
रेखा थापाले राजेन्द्र लिङ्देन समूहबाट महिला महामन्त्रीमा उम्मेदवारी दिएकी थिइन् । थापाले १ हजार ६४० मत ल्याउँदा महिला महामन्त्रीका अर्का उम्मेदवार कुन्ती शाहीले २ हजार ८ मत ल्याएर विजयी भएकी थिइन् ।