राप्रपामा थापाको जगजगी ढाल्ने को हुन् राजेन्द्र लिङ्देन ?
अखबार टुडे
प्रकाशित:
२०७८, १९ मंसिर

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । आइतबार बिहान सकिएको मतगणनाअनुसार लिङ्देन एक हजार आठ सय ४४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन्। थापाले जम्मा एक हजार ६१७ मत ल्याएका थिए ।

थापाले पराजय स्वीकार गरेका छन् । आइतबार बिहान ट्वीट गर्दै अध्यक्षमा लिङ्देन जितेकोमा बधाई दिँदै आफ्नो हार स्वीकारेका हुन् ।
‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना । प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु’ थापाले भनेका छन् ।

उनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाएका छन् ।
‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु,’ उनले भनेका छन्, ‘मैले राहत र उन्मुक्ति पाएको छु ।’

को हुन् राजेन्द्र लिङ्देन ?
२०२२ साल भदौ २२ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका राजेन्द्र लिङ्देन झापाका स्थायी बासिन्दा हुन् । बुवा प्रहरीमा भएकाले उनको बसाइ झापा भएको थियो ।

राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गरेका लिङ्देनले २०३९ सालदेखि राजनीतिक यात्रा शुरू गरेका हुन् । राप्रपाको विद्यार्थी संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन’को संस्थापक अध्यक्ष समेत हुन् । लिङ्देनले २०४९ र २०५४ सालको चुनावमा झापाको गोलधापबाट वडाध्यक्ष जितेका थिए ।

२०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमा समते बनेका लिङ्देन २०५६ सालको संसदीय चुनावमा झापा क्षेत्र नम्बर ३ मा तेस्रो र २०७० सालको चुनावमा दोस्रो मत ल्याएर पराजित भए ।

उनी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित हुँदै आएका थिए । उनै लिङ्देनले कांग्रेसका सिटौलालाई भारी मतान्तरले पराजित गर्दै २०७४ को प्रतिनिधिसभामा विजयी भएका थिए ।

लिङ्देन २०६४ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य भएका लिङ्देन २०७० सालमा राप्रपा नेपालको महामन्त्री भए ।
समान्य परिवारमा जन्मेर पञ्चायती राजनीति हुँदै बहुदल आएपछि राप्रपाको राजनीतिमा लागेका लिङदेनले प्रत्यक्षतर्फको जित दिलाएर राप्रपा पार्टीलाई शून्य सिटबाट जोगाएर वाहवाही पाएका थिए ।

प्रतिक्रिया