काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको अन्तिम विवरण सार्वजनिक गरेको छ । कांग्रेसले आसन्न १४औँ महाधिवेशनका लागि तयार पारेको क्रियाशील सदस्यता ८ लाख ४० हजार १०६ रहेको छ ।
कांग्रेस प्रचार समितिले कांग्रेसको क्रियाशील छानविन समितिले बुझाएका विवरणलाई प्रदेशगत रूपमा सूचीकृत गरेको छ । साथै, उमेर तथा समावेशीताका आधारमा समेत विश्लेषण गरेको छ ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार उमेर समूहका हिसाबले ७५ वर्षमाथि ११ हजार मात्र क्रियाशील सदस्य रहेका छन् । सभापति शेरबहादुर देउवा ७६ र वरिष्ठ नेता रामचन्द्र पौडेल ७७ वर्षको भइसकेका छन् ।
कांग्रेसमा उनीहरुको उमेर समूहका क्रियाशील सदस्य जम्मा ११ हजारमात्र रहेको पाइएको छ । १४औँ महाधिवेशनमा देउवा र पौडेल दुवै जना सभापति बन्ने दौडमा छन् ।
कांग्रेसको सबैभन्दा बढी क्रियाशील सदस्य बागमतीमा रहेका छन् । बागमती प्रदेशमा १ लाख ८६ हजार ३ सय ३५ जना कांग्रेसका क्रियाशील सदस्य रहेका छन् । त्यस्तै, बागमतीपछि प्रदेश १ मा कांग्रेसको क्रियाशील सदस्य १ लाख ७४ हजार ८ सय १३ रहेका छन् ।
यस्तै, लुम्बिनी प्रदेशमा १ लाख ३१ हजार, १ सय १७ जना र प्रदेश २ मा १ लाख ९ सय ९९ क्रियाशील सदस्य रहेको कांग्रेसले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
गण्डकी प्रदेशमा १ लाख १८ हजार, १ सय ४५, सुदूरपश्चिम प्रदेशमा ७५ हजार १ सय १ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५३ हजार ५ सय ९६ जना कांग्रेसको क्रियाशील सदस्य रहेका छन् ।
यस्तै, उमेरका हिसाबले ४१ देखि ६० वर्षका ३ लाख २१ हजार १८४ जना क्रियाशील सदस्य रहेका छन् । यो संख्या ३६.०४५ प्रतिशत हो । १६ देखि २५ वर्ष समूहका ३८ हजार ९४२ क्रियाशील सदस्य रहेका छन् । यो ४.३७ प्रतिशत हो । सबैभन्दा १.३ प्रतिशत अर्थात ११ हजार ६२३ जना ७५ वर्षमाथिका रहेका छन् ।
महिलाको संख्या महिला १ लाख ९५ हजार ३७२ अर्आत २१.९२ प्रतिशत र पुरुष ७२ प्रतिशत ६ लाख ४४ हजार ५६५ जना क्रियाशील सदस्य रहेका छन् ।