वर्षा र हिमपातको सम्भावना, पर्वतारोहणमा नजान सुझाव
अखबार टुडे
प्रकाशित:
२०७८, १६ मंसिर

काठमाडौैं, १६ मंसिर । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रका कारण आज(बिहीबार) देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने र हिमाली जिल्लामा भारी हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौमसविद् समिर श्रेष्ठअनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । यस्तै यी प्रदेशका हिमाली जिल्लामा मध्यमदेखि भारी हिमपात हुनेछ । यस्तै, राति पनि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए ।

भोलि पनि मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । पर्सिदेखि भने पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव कमजोर बन्दै जाने भएकाले मौसम केही खुल्ने अनुमान गरिएको छ ।

यस्तै, हिमाली जिल्लामा भारी हिमपातको सम्भावना रहेकाले सकेसम्म पर्वतारोहणमा नजान मौसमविद्को सुझाव छ । यदि जानै परे मौसमबारे जानकारी लिन उनीहरुको आग्रह छ । यस्तै, वर्षा र हिमपातका कारण चिसो बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन पनि मौसमविद्को आग्रह छ ।

प्रतिक्रिया