कांग्रेसको १४औंँ महाधिवेशन : जनसम्पर्क समिति जर्मनीको सभापतिमा पौडेलको उम्मेदवारी
अखबार टुडे
प्रकाशित:
२०७८, ३० कार्तिक

काठमाडौं, ३० कात्तिक । नेपाली कांग्रेसका नेता कार्यकर्तालाई चुनावी चटारोले छोएको छ । आसन्न १४औंँ महाधिवेनको मिति नजिकिएसँगै नेता कार्यकर्तालाई दौडधुप बढेको हो ।

यस्तै, १४औँ महाधिवेशनअन्तर्गत विदेशस्थित जनसम्पर्क समितिहरुलाई पनि अधिवेशनको चटारोले छोएको छ । यसैक्रममा जनसम्पर्क समिति जर्मनीको सभापति पदमा दयाराम पौडेलले उम्मेदवारी घोषणा गरेका छन् ।

यसअघि जनसम्पर्क समिति, युरोपको कोषाध्यक्ष भइ कुसलतापूर्वक जिम्मेवारी सम्हालिसकेका पौडेलले आफ्नो जीत सुनिश्चित रहेको समेत दावी गरेका छन् । झण्डै तीन दशकदेखि जर्मनीमा बसेर प्रजातान्त्रिक राजनीतिमा सक्रिय पौडेलले भने, ‘जीत सुनिश्चित देखेरै जनसम्पर्क समिति सभापतिमा उम्मेदवारी दिएको हुँ ।’

आफ्नो प्रतिस्पर्धी नभएकाले पनि आफू निर्विरोध हुने सम्भावना रहेको उनको भनाइ छ । पौडेलले भने, ‘आपसी सहमतिमा पनि सम्भव छ, तैपनि प्रजातान्त्रिक तरिकाले निर्र्वाचन प्रक्रियाबाटै नेतृत्व चयन गरौँ भन्ने विषयमा छलफल भइरहेको छ ।’

उनका अनुसार जर्मनीमा मात्र १५ सयदेखि दुई हजारको हाराहारी कांग्रेससँग आस्था राख्ने नेपाली रहेका छन् । उनीहरु अधिकांशको मत आफूलाई रहेको दावी गर्दै पौडेलले भने, ‘यहाँ कांग्रेसमा पक्ष र विपक्ष भन्ने छैन । त्यसैले पनि मेरो जीत सुनिश्चित छ ।’

केन्द्रमा स्पष्ट रुपमा कांग्रेसमा दुई पक्ष रहेको छ । तर, युरोपमा सबै कांग्रेस एक रहेको पौडेलको भनाइ छ । उनले भने, ‘युरोपमा कांग्रेसभित्र गुट छैन । त्यसैले पनि अधिवेशन सहमतिमा समेत सम्भव छ ।’

एनआरएनए जर्मनीका निवर्तमान प्रमुख सल्लाहकार तथा जर्मनीका बरिष्ठ सामाजिक प्रजातन्त्रवादी लव थापाले पनि यस पटक जनसम्पर्क समिति जर्मनीको सभापति पदका लागि पौडेलको विकल्प अरु नरहेको बताए ।

जनसम्पर्क समिति जर्मनीका निवर्तमान बरिष्ठ उपाध्यक्ष सुर्य तिवारी, निवर्तमान महामन्त्री टंक लम्साल, एनआरएनए जर्मनीका नवनिर्वाचित आईसीसी सदस्य शंकर डाँगीले पनि सोही कुरालाई सहमति जनाउँदै सभापतिका पौडेलका प्रत्यासी अरु नभएको बताए ।

डाँगी भने ‘सभापतिका प्रत्यासी पौडेलको संगठन प्रतिको योग्दान, इमान्दरिता र निष्ठाका कारण उहाँलाई सर्वसम्मत घोषणा गर्ने तयारीमा सबै जना जुटेको बताए । चुनावी सरगर्मी बढेपनि अधिवेशनको मिति भने तय भइनसकेको पौडेलले बताए । महाधिवेशन अघि अधिवेशन गरिसक्नुपर्ने बाध्यता रहेकाले केही दिनमै मिति तय उनले बताए ।

कांग्रेसले मंसिर १६ र १७ मा सातै प्रदेशमा अधिवेशन र मंसिर २१ मा मनोनयन गरी मंसिर २४ देखि २६ सम्म १४औं महाधिवेशन गर्ने तयारी गरेको छ । कांग्रेसले देशका अधिकांश वडा, पालिका स्तरको अधिवेशन सम्पन्न गरिसकेको छ । केही जिल्लामा भने विवादका कारण अधिवेशन हुन सकेको छैन ।

प्रतिक्रिया