मुस्ताङ: हिमपहिरोमा १२० चौरी बेपत्ता
अखबार टुडे
प्रकाशित:
२०७८, २९ कार्तिक

काठमाडौं, २९ कार्तिक । मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १२० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् ।

कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन् । हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडा अध्यक्ष नरप्रसाद हीराचनले जानकारी दिए । भागदौड मच्चिदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमरसिङ माविका ११ जना शिक्षक विद्यार्थी जोमसोममा उपचारपछि घर फर्किएका छन् ।

हिमपहिरो आएको क्षेत्रमा भएका गोठाला सुरक्षितरुपमा सम्पर्कमा आएका छन् । १३० याक चौँरीमध्ये बाइनाकुलरले हेर्दा १०÷१२ मात्र देखिएको र बेपत्ता चाँैरी हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । हिमपहिरोले जङ्गलमा रुख ढलाएको छ । वन्यजन्तुको बासस्थानमा क्षति पुगेको छ । हिमपहिरोपछि बोस्की खोलामा पानीको सतह बढेको थियो । बेनी–जोमसोम सडकमा केही समय यातायात आवतजावत बन्द भएको थियो ।

सांसद प्रेमप्रसाद तुलाचन, प्रदेशसभा सदस्य चन्द्रमोहन गौचन, महेन्द्र थकाली, प्रजिअ शर्मालगायत सुरक्षा अधिकारीको टोलीले स्थलगत निरिक्षण गरेका थिए । क्षतिको विवरण सङ्कलन भइरहेको कोवाङ प्रहरी चौकीका प्रमुख नेत्र जिटीले बताए । हिउँसो ११ः४० मा ठूलो आवाज हिउँको मुस्लो आएपछि भागाभाग भएको थियो ।

प्रतिक्रिया