काठमाडौं, २९ कार्तिक (एजेन्सी)। अष्ट्रिया सरकारले देशमा कोरोनो संक्रमण तीब्र रुपमा फैलिन थालेपछि गए रातिदेखि लागू हुने गरी देशव्यापी लकडाउनको घोषणा गरेको छ ।
यस घोषणाअनुसार १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरूलाई काम गर्ने, किनमेल गर्ने, हिँडडुल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधिहरू बाहेकका काममा घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ । खोप नलगाएका व्यक्तिले प्रतिबन्धको पालना नगरे जरिबाना हुनेछ । खोप लगाए नलगाएका व्यक्तिहरुको सुरक्षा जाँच प्रहरीले गर्नेछ । प्रहरी नागरिकले खोप लगाए नलगाएको सुनिश्चित गर्न गस्तीमा खटिने छ ।
सरकारी अधिकारीहरूले कोभिड–१९ सङ्क्रमणबाट बढ्दो मृत्यु बारेमा चिन्ता व्यक्त गरेका छन् । साथै अवस्था बिग्रिँदै गए अस्पतालहरूले सङ्क्रमितको उपचार गर्न समेत कठिन हुने बताएका छन् । कोभिडबाट सुरक्षाका लागि नागरिकहरुलाई खोप लगाउन बारम्बार आग्रह गर्दा पनि खोप लगाउन आनाकानी गरेकाले उनीहरुका लागि लकडाउन गर्न आवश्यक भएको बताइएको छ ।
करिब ९० लाख जनसङ्ख्या भएको अस्ट्रियामा लकडाउनका कारण झण्डै बीस लाख मानिसहरू प्रभावित हुनेछन् । लकडाउन सुरुमा १० दिनसम्म रहने छ । यसबीचमा प्रहरीहरूले नागरिकहरूले खोप लगाए नलगाएको सुनिश्चित गर्न गस्तीमा जानेछन् । खोप नलगाएका व्यक्तिहरूले प्रतिबन्धहरूको पालना नगरेमा १,४५० युरो सम्म जरिवाना गर्न सकिने बताइएको छ ।