सुडानमा सेनाले सत्ता पकड बलियो बनाएपछि विरोध प्रदर्शन
अखबार टुडे
प्रकाशित:
२०७८, २७ कार्तिक

खार्तुम, २७ कार्तिक (एजेन्सी)। प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूले शनिबार सुडानको सडकमा सेनाको सत्ता कब्जाको विरोधमा उत्रेका छन् ।

अमेरिका र अन्य पश्चिमी सरकारहरूको आक्रोशको बाबजुद सेनाले सत्तामा आफ्नो पकड कडा पारेको छ । नेता जनरल अब्देल–फताह बुरहानले सुडानको अन्तरिम शासक निकाय, सार्वभौम परिषद्को प्रमुख पुनः नियुक्त गरेको दुई दिन पछि उक्त प्रदर्शनी भएको हो ।

बिहीबारको कदमले प्रजातन्त्र समर्थक गठबन्धनलाई थप आक्रोशित तुल्याएको छ र अमेरिका र अन्य देशहरूलाई निराश बनाएको छ । पश्चिमा दैसहरूले जनरलहरूलाई कू उल्टाउन आग्रह गरिरहेका छन् ।

सुडानी सेनाले अक्टोबर २५ मा सत्ता कब्जा गरी संक्रमणकालीन सरकार विघटन गरी दर्जनौं अधिकारी र राजनीतिज्ञहरूलाई गिरफ्तार गरेको थियो । उक्त कूले अन्तरराष्ट्रियरूपमा आलोचित भएको छ भने खार्तुमको सडकमा र देशका अन्य ठाउँमा व्यापक विरोध प्रदर्शन भइरहेको छ ।

दुई वर्ष पछि लोकप्रिय विद्रोहले लामो समयको निरंकुश ओमार अल–बशीर र उनको इस्लामवादी सरकारलाई हटाउन बाध्य पारेको थियो । शनिबारको विरोध प्रदर्शनलाई सुडानी व्यवसायी संघ र तथाकथित प्रतिरोध समितिहरूले आह्वान गरेका थिए । दुवै समूहहरू अप्रिल २०१९ मा अल–बशीर विरुद्धको लोकप्रिय विद्रोहको पछाडि प्रमुख शक्तिकारूपमा थिए ।

दुवै समूहले सन् २०१९ को अन्त्यमा अपदस्थ गरिएको सङ्क्रमणकालीन सरकार स्थापना गरेको शक्ति बाँडफाँड सम्झौतामा फिर्ताको विरोध गरेका छन् । उनीहरूले लोकतन्त्रमा सङ्क्रमणको नेतृत्व गर्न सरकार नागरिकलाई हस्तान्तरण गर्न माग गरिरहेका छन् ।

सर्वसाधारणलाई सत्ता हस्तान्तरण गर्ने आफ्नो मुख्य मागको सन्दर्भमा प्रदर्शनकारीहरूले ‘नागरिक, नागरिक’ भन्दै राजधानी खार्तुमको छिमेकमा जुलुस निकालिरहेका छन् । राजधानीका विभिन्न ठाउँमा कडा सुरक्षाबीच प्रदर्शन भएको छ । अधिकारीहरूले राजधानीका छिमेकीहरूलाई जोड्ने नाइल नदीमाथिका पुलहरू बन्द गरेका छन् ।

सुडानमा संयुक्त राष्ट्रसंघका दूत भोल्कर पर्थेसले नियोजित विरोध प्रदर्शनका क्रममा सुरक्षा बलहरूलाई अत्यधिक संयमता अपनाउन आग्रह गर्दै प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण विरोधको सिद्धान्त कायम राख्न आग्रह गरेका छन् ।

प्रतिक्रिया