काठमाडौं, २७ कात्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले दक्षिणपन्थी र प्रतिगमनविरुद्धको लडाइँ लडिरहेको बताएका छन् । शनिबार समाजवादी प्रेस संगठन नेपालको घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफुहरुले सामाजिक न्यायसहितको समाजवाद चाहेको समेत बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘हाम्रो पार्टी कम्युनिष्ट चरित्रको हुनेछ, हामी यसलाई व्यवहारमा देखाउँछौ, कम्युनिष्टहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ । योसँगै हामी दक्षिणपन्थ र प्रतिगमन विरुद्धको लडाई लडिरहेका छौँ ।’
देशमा विभिन्न किसिमका भ्रष्टाचार, शोषण उत्पीडन र विकृति विसंगति मौलाइरहेको बताउँदै उनले पत्रकारले पनि त्यसखालका विकृति विसंगितविरुद्ध कलम चलाउनुपर्नेमा जोड दिए । उनले पछिल्लो समय देशमभर समाजवादी पार्टीमा आकर्षण बढेको र प्रवेश गर्नेहरुको लहर चलिरहेको पनि बताए ।
सोही क्रममा अध्यक्ष नेपालले साँझ नपर्दै होटल र भट्टी चाहार्ने बानी त्याग्न आफेना नेता तथा पार्टी निकट पत्रकारहरुलाई निर्देशन दिए । घोषणासभालाई सम्बोधन गर्दै उनले भने, ‘अस्ति सर्लाही जाँदा त्यहाँ सुनेँ, गर्मी महिनामा साढे सात बजे र जाडो मौसममा साढे पाँचै बजे होटलमा जम्मा हुने गर्छन् । टेबुलभरी बोतल र गिलास ठोकाठोक गर्ने अनि घरमा गएर झगडा गर्ने कुन पार्टीका मान्छे हुन् ? यो प्रश्न तपाईहरुलाई पनि उठेको छ । यस्तो बानी छ भने त्याग्नुस् । मैले थाहा पाएँ भने सहन्नँ ।
उनले रक्सीले मान्छेको आयु घटाउने र घर कलह तथा समाजमा विकृति हुने भन्दै कतिपय मान्छेमाा विहानैदेखि रक्सी नखाई नहुने लत रहेको बताए ।