
काठमाडौं, २३ कार्तिक । पोल्याण्डले बेलारुससँगको पूर्वी सीमामा आफ्नो देश प्रवेश गर्न खोजेका कयौँ आप्रवासीलाई रोकेको जनाउँदै हजारौँ अझै त्यसतर्फ आइरहेको बताएको छ ।
भिडिओ सामाग्रीहरूमा महिला र बालबालिकासहितका सयौँ मानिसहरू फलामे तारले बारिएको सीमानजिक देखिन्छन् जसमा केहीले उक्त अवरोध पार गर्दै अघि बढ्न खोजेको देखिन्छ । तर पोल्याण्ड सरकारले उनीहरुलाई रोक्न उक्त क्षेत्रमा थप १२ हजार फौज खटाएको बीबीसीले जनाएको छ ।
धेरैजसो मध्यपूर्व र एसियाबाट आएका आप्रवासीहरू छन् । पोल्याण्ड, लिथुआनिया र लाट्भियाले पछिल्ला महिनामा बेलारुसबाट गैरकानुनी रूपमा आफ्नो देश प्रवेश गर्न खोज्ने आप्रवासीहरूको सङ्ख्या बढेको बताएका छन् । पोल्याण्डले बेलारूसलाई आप्रवासीहरूलाई सीमातर्फ धकेलेको आरोप लगाउँदै त्यसलाई ‘शत्रुतापूर्ण कार्य’ भनेको छ ।
युरोपेली सङ्घले बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्काले आफूविरूद्ध लगाइएको प्रतिबन्धविरूद्ध आप्रवासीको त्यस्तो लहरलाई सहजिकरण गरेको आरोप लगाएको छ । यता पोल्याण्डले आप्रवासी र शरणार्थीहरूको एउटा ठूलो सङ्ख्यालाई फलामे तारले घेरेर रोकेका छ भने मङ्गलवार बिहानैबाट बेलारुसतर्फकै एउटा सीमा नाका कुज्निका बन्द गरिने पोलिस बोर्डर गार्डले जनाएको छ ।
उनीहरू पोल्याण्डबाट निकालिँदा र बेलारूसले फिर्ता लिन नचाहँदा पोल्याण्डको जङ्गलमा उनीहरू अलपत्र परेका छन् । उक्त क्षेत्रमा शून्य डिग्री सेल्सिअसभन्दा तल पुग्ने ठन्डीकाबीच सीमामा आप्रवासीहरूको असहज अवस्था देखिन्छ र उनीहरूको स्वास्थ्यको चिन्ता भइरहेको बीबीसीले जनाएको छ । चिसोकै कारण केहीको मृत्युको भएको छ ।
बेलारुस र पोल्यान्डले आप्रवासीमाथि गरिरहेको दमनको मानव अधिकारवादीले आलोचना गर्दै मानवीयताको रक्षा गर्न अपिल गरेका छन् ।
