
सोल, २० कार्तिक । उत्तर कोरियामा भोकमरी हुनेबारे कठोर चेतावनी देशभित्रै र बाहिरबाट आइरहेको बीबीसीले जनाएको छ । देश त्यागेर दक्षिण कोरियामा रहेकाहरूले उत्तर कोरियामा रहेका आफ्ना परिवारहरूले भोकमरीको सामना गरिरहेको बताएका छन् । हिउँद याम नजिकिँदै गर्दा धेरै जोखिममा रहेकाहरू भोकमरीबाट सबैभन्दा बढी प्रभावित हुने भन्दै चिन्ता बढेका छन् ।
उत्तर कोरियामा स्रोत भएकी डेली एनकेकी प्रधानसम्पादक ली साङ योङका अनुसार अनाथ बालबालिकाहरू सडकमा धेरै देखिने र भोकमरीका कारण मानिसहरूको मृत्यु भइरहेका खबर निरन्तर रूपमा आइरहेका छन् । खाद्यान्न अभावको अवस्था सोचिएभन्दा बढी खराब हुँदा उत्तर कोरियामा निम्न वर्गीय मानिसहरू धेरैभन्दा धेरै पीडित भएको लीले बताइन् ।
उत्तर कोरियामा खाद्यान्न अभावको समस्या सधैँको हो तर कोरोनाभाइरसको विश्वव्यापी महामारीले त्यो अवस्थालाई अझै खराब बनाएको छ । नेता किम जङ–अनले देशको अहिलेको अवस्थालाई सन् १९९० को खराब अवस्थासँग दाँजेका छन् । ‘आर्डस मार्च’ नाम दिइएको सन् १९९० को त्यस्तो विपद्मा लाखौँ मानिसको भोकमरीका कारण ज्यान गएको थियो । अहिले अवस्था अझै खराब भएको ठानिएको छ तर केही आशालाग्दा सङ्केतहरू पनि छन् ।
उत्तर कोरियाले चीनसँगको सीमा खोल्ने तयारी गरेको देखिएको छ । तर पहिल्यै गरिब रहेको देशको बिग्रिएको अर्थतन्त्र उकास्न कति सहायता वा कति व्यापार आवश्यक छ भन्ने चाहिँ अझै स्पष्ट भइसकेको छैन ।
यो वर्षको अन्न भित्र्याउने कार्य महत्त्वपूर्ण छ । गत वर्ष शृङ्खलाबद्ध रूपमा आएका आँधीले अन्नमा आंशिक रूपमा क्षति पु¥याएको थियो । संयुक्त राष्ट्रसङ्घले देशमा दुईदेखि तीन महिनासम्म अन्नको अभाव हुने आकलन गरेको छ । यो वर्ष भने धान र मकै जुटाउन सेनासहित दशौँ हजार मानिसलाई खेतमा काम गर्न पठाइएको छ । तर लामो समय खडेरीका कारण उत्पादन सोचे अनुसार भएको छैन । ‘कन्भर्जिङ क्राइसिस’ नामक प्रतिवेदनले आउँदा वर्षमा अवस्था अझै खराब हुने र खासगरी सुक्खापन र बाढीले धानको उत्पादनलाई असर गर्ने जनाएको छ ।
किम जङ–अनले पनि अन्नको जोहो गर्न र जसले अन्न खाइरहेका छन् उनीहरूलाई बाली भित्राउन मद्दत गर्न निर्देशन दिएको बताइएको छ । ‘बाली भित्र्याउँदा हुने क्षति कम गर्ने योजना पनि गरिएको छ’, लीले भनिन् । बाली भित्र्याउँदा चोरी वा डकैतीका खबरहरू आए कडा कारबाही हुने पनि बताइएको छ ।
एक जना सांसदका अनुसार एनआइएसले किमले आर्थिक अवस्थाका कारण कठिन परिस्थितिबाट गुज्रिरहेको आफूले महसुस गरेको बताएको जनाएको थियो । औषधि र आवश्यक सामाग्रीको अभावले उत्तर कोरियामा बिमारीहरू सङ्ख्या तीव्र गतिमा बढिरहेको पनि एनआईएसले जनाएको बताइएको छ । यी बढ्दो चिन्ताहरूबारे सरकारी सञ्चारमाध्यममा आएका विवरणले थप पुष्टि गर्छ ।
उत्तर कोरियाले अहिले कोरोना महामारीका कारण सीमाहरू बन्द गरिएका छन् भने परमाणु कार्यक्रम विवादका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्ध पनि खेपिरहेको छ । विज्ञहरूका अनुसार उत्तर कोरियाले नयाँ सैन्य प्रविधि र हतियारमा प्रतिस्पर्धा गरे पनि कृषिमा आधुनिक प्रणाली विस्तार भएको छैन ।
