
काठमाडौं, १९ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत्को प्रचलनसँगै गरिबी उन्मूलनको अभियान सुरु भएको बताएका छन् ।
नेपाल संवत् ११४२ को अवसरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले शुक्रबार मध्यपुरथिमि शङ्खधर चोकमा आयोजना गरेको कार्यक्रममा उनले नेपाल संवत् नेपालको मौलिक संवत् भएकाले यसलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए ।
समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन साख्वाःले योगदान गर्दै राष्ट्रको गौरव बढाएकाले उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको प्रधानमन्त्री देउवाले बताए ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्थामा पु¥याएको उनले चर्चा गरे ।
प्रधानमन्त्री देउवाले नेपालमा रहेका विविध धर्म संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाउँदै नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने बताए । कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल संवत् एप र नेपाल संवत्को पात्रो सार्वजनिक गरेका थिए । सो अवसरमा उनले साख्वाःको शालिकमा माल्यार्पण गरेका थिए ।
