काठमाडौं, १९ कार्तिक । लक्षण देखिने कोभिडका बिरामीहरूको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई यूकेको औषधि नियामक निकायले अनुमोदन गरेको छ ।
मोल्न्यूपिरभीर नाम दिइएको चक्की भर्खरै कोभिड देखिएका जोखिम समूहमा पर्ने बिरामीहरूलाई दिनमा दुई पटक दिइनेछ । शुरूमा रुघाखोकीको उपचारका लागि विकास गरिएको उक्त चक्कीले अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणहरूबाट देखिएको छ ।
बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविदले दुर्बल तथा रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसहरूका लागि यो ओखती महत्त्वपूर्ण हुने बताएको बीबीसीले जनाएको छ । ‘हाम्रो देशका लागि आज ऐतिहासिक दिन हो । कोभिड बिरामीको उपचारका लागि घरमै लैजान सकिने एन्टिभाइरललाई अनुमोदन गर्ने यूके विश्वकै पहिलो मुलुक बनेको छ,’ स्वास्थ्यमन्त्रीले एउटा वक्तव्यमा भनेका छन् ।
मोल्न्यूपिरभीर अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले बनाएको कोभिड विरुद्धको पहिलो ओखती हो जसलाई सुईको रूपमा लिनुभन्दा खान सकिनेछ ।
कोभिडका हल्कादेखि मध्यमसम्मका लक्षण देखिएका र अवस्था गम्भीर हुन सक्ने एउटा पनि कारक भएका जस्तो कि मोटोपन, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसमा मोल्न्यूपिरभीरको प्रयोगका लागि अनुमति दिइएको यूकेको औषधि नियामक एमएचआरएले जनाएको छ ।