काठमाडौं, १३ कात्तिक । नेपाल राष्ट्र बैंकले मरिच, केराउँ र सुपारी आयातका लागि विदेशी मुद्रा सटही गर्न रोक लगाएको छ । पछिल्लो समय आयात धेरै बढेका कारण विदेशी मुद्रा सञ्चितमा चाप परेको भन्दै राष्ट्र बैंकले १७ असोजमा यस्ता सामानहहरु आयात गर्न विदेशी मुद्रा सटही नगर्ने गरी बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गरेको थियो ।
शुक्रबार मात्र राष्ट्र बैंकले नयाँ सर्कुलर जारी गर्दै कोटा तोकेको थियो । १० हजार मेट्रिक टन मरिच, ८० हजार मेट्रिक टन केराउ, २५ हजार मेट्रिक टन सुपारी र ५ हजार मेट्रिक टनमात्र आयात हुन दिनेगरी शुक्रबार सर्कुलर जारी गरिएको हो । तर उक्त यो निर्णयलाई राष्ट्र बैंकले रातारात सच्याएको छ ।
राष्ट्र बैंकका एक अधिकारीका अनुसार परिमाण तोकेर खुला गर्ने निर्णय गरिएको भन्दै अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग असन्तुष्टि जनाएको खबर अर्थमन्त्रीसम्म पुगेपछि गभर्नर महाप्रसाद अधिकारीले तत्कालै नयाँ सर्कुलर जारी गर्न भनेका थिए ।
शनिबार राष्ट्र बैंक बिदा हुने भएपनि नयाँ सर्कुलर जारी गरिएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले एकीकृत परिपत्र २०७६ संशोधन भएको जानकारी दिँदै शुक्रबार जारी भएको सर्कुलर खारेज भएको बताएका छन् ।
कार्यकारी निर्देशक पौडेलले जारी गरेको परिपत्रअनुसार अब मरिच, केराउँ र सुपारी आयातका लागि एक रुपैयाँ पनि विदेशी मुद्रा सटही हुनेछैन । यसैगरी महँगा गाडी आयातमा पनि राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । राष्ट्र बैंक श्रोतका अनुसार ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधन आयातमा रोक लगाइएको छ ।