
काठमाडौं, १३ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’मा सहभागी हुन शुक्रबार लण्डन पुगेका छन् । उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार बिहान काठमाडौँबाट कतार एयरवेजको विमानबाट दोहा हुँदै लण्डन पुगेका प्रधानमन्त्री देउवा ६ दिन विभिन्न भेटघाट तथा कार्यक्रममा व्यस्त रहने छन् ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार लण्डनमै विभिन्न भेटभाट र कार्यक्रममा व्यस्त हुनेछन् । प्रधानमन्त्री देउवाले शनिबार नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
यसैगरी, शनिबार नै प्रधानमन्त्री देउवासँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली संघ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिले भेट्नेछन् ।
यस्तै, अक्टोबर ३१ मा प्रधानमन्त्री देउवा लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले भूतपूर्व गोर्खा संगठनका प्रतिनिधि, बेलायती संसद् सदस्य र अन्य नेपाली प्रवासी सदस्यसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवा नोभेम्बर १ मा ग्लास्गोमा हुने कोप–२६ को औपचारिक उदघटन समारोहमा सहभागी हुन लण्डनबाट अक्टोबर ३१ मा त्यसतर्फ प्रस्थान गर्नेछन् । कोप–२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गोमा आयोजना हुँदैछ ।
उदघाटनको साँझ प्रधानमन्त्री देउवा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गर्ने सम्मेलनमा सहभागी हुनेछन् । प्रधानमन्त्री देउवाले सो अवसरमा राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने हुने बताइएको छ ।
यस्तै, नोभेम्बर २ मा प्रधानमन्त्री जोन्सन र स्कटल्याण्डका प्रथम मन्त्रीले राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आयोजना गर्ने ब्रेकफास्ट रिसेप्सनमा पनि सहभागी हुने हुनेछन् भने नोभेम्बर ३ मा स्कटल्याडको एडिनबर्गस्थित रोयल बोटानिकल गार्डेनको भ्रमण गरी नेपाली बगैँचामा बिरुवा रोप्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायत सरकारका वरिष्ठ अधिकारीहरू छन् । प्रधानमन्त्री देउवा बेलायतबाट नोभेम्बर ३ अर्थात कात्तिक १८ मा स्वदेश फर्किने कार्यक्रम छ ।
