काठमाडौं, ९ कार्तिक । जापानकी राजकुमारी माकोले आफ्ना प्रेमी केइ कोमुरोसँग लगनगाँठो कसेकी छन् । सर्वसाधारण नागरिकसँग बिहे गरेपछि उनको शाही पदवी गुमेको छ ।
जापानको कानुनअनुसार जनतासँग विवाह गर्दा राजपरिवारका महिला सदस्यको शाही हैसियत गुम्छ । राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि उनले अवलम्बन गरिनन् ।
जापानका राजकुमारी वा राजकुमारले सामान्य नागरिकसँग विवाह गरेका उनीहरुलाई लगभग १४० मिलियन येन हर्जना दिने गरिन्छ । तर माकोले उक्त हर्जना पनि लिन अस्वीकार गरेकी छन् । दोस्रो विश्वयुद्धपछि हर्जना नलिने उनी पहिलो राजकुमारी हुन् ।
राजकुमारी माको मङ्गलवार स्थानीय समयानुसार बिहान १० बजे टोक्योस्थित आफ्नो निवासबाट विवाह दर्ता गर्न बाहिर निस्किएकी थिइन् । उनले राजदरबार छोड्नुअघि आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर अभिवादन गरेकी थिइन् । दरबारबाट बाहिर निस्किनुअघि उनले आफ्नी बहिनीलाई अँगालो हालेको क्योदोमा प्रकाशित समाचारमा उल्लिखित छ ।
नवविवाहित दम्पती अमेरिका गएर बस्ने अनुमान गरिएको छ । कोमुरो अमेरिकामा वकिल छन् । कोमुरो र माकोले कलेजमा सँगै पढेका थिए । राजकुमारी माको र केई कोमुरो सन् २०१२ मा टोकियोको इन्टरनेशनल क्रिश्चियन युनिभर्सिटीमा भेटेका थिए ।
उनीहरुको मगनी गत सन् २०१७ मा भएपनि बिवाहको मिति तय भएको थिएन । राजपरिवारकी सदस्यले सर्वसाधारणसँग बिवाह गर्न लागेको भन्दै उहाँहरुको बिवाहका बारेमा टिकाटिप्पणी हुदै आएको थियो । विरोधकाबीच पनि शाही पदवीसमेत गुमाएर राजकुमारी माकोले सर्वसाधारण एक युवासँग विवाह गरेको विषय विश्वभरी भने सकारात्मक चर्चाको विषय भएको छ ।