
काटमाडौं, ३० असोज । १३औँ साफ चाम्पियनसिपमा आज उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । तर, नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने निलम्बित भएका छन् ।
आज हुने साफ चाम्पियनसिपको फाइनलमा ‘टेक्निकल एरिया’मा बस्न नपाउने गरेर उनी कारवाहीमा परेका छन् । जसको उनले विरोध जनाएका छन् । प्रतियोगिताको आयोजक दक्षिण एसियाली फुटबल महासंघले गरेको निर्णयमा आपत्ति जनाउँदै उनले यो निर्णय फिर्ता लिनुपर्ने बताएका छन् ।
राउन्ड रोबिनको आधारमा चलेको प्रतियोगिताको लिग चरणमा दुई पहेँलो कार्ड खाएपछि उनलाई फाइनलमा ‘टेक्निकल एरिया’मा बस्न नपाउने गरेर निर्णय गरेको हो । उनले शनिबार बिहान आयोजित भुर्चअल प्रेस मिटमा भने, ‘यो कारबाही ममाथि मात्र भएको होइन, नेपाली फुटबल टिम र समग्र नेपाली फुटबलमाथि भएको कारवाही भएको हो ।’
उनले साफ च्याम्पियसिप २०२१ को नियमावालीमा कतैपनि प्रशिक्षकले दुई पहेँलो कार्ड खाएपछि टेक्निकल एरियामा बस्न नपाउने भनिएको नभएको बताए । उनले भने, ‘प्रत्येक प्रतियोगिताको आफ्नो अलग नियम हुन्छ ।’ नेपाललाई साफ च्याम्पियनसिप जित्नबाट रोक्न यस्तो निर्णय भएको पनि उनले आरोप लगाए ।
प्रशिक्षक अल्मुताइरीका अनुसार उक्त निर्णय उल्टाउनका लागि प्रयास भइरहेको छ । फाइनलमा भारतीय प्रशिक्षक इगोर स्टिमेक पनि खेलका क्रममा ‘टेक्निकल एरिया’मा बस्न पाउने छैनन् । उनलाई माल्दिभ्सविरुद्धको खेलमा सिधा रातो कार्ड देखाइएको थियो ।
