काठमाडौं, ३० असोज । १३औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल उपाधिका लागि शनिबार (आज) नेपाल र भारतबीच भीडन्त हुँदैछ । खेल आज राति पौने ९ बजे मालदिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुँदैछ ।
फाइनल खेलमा नेपाली टिमका एक जना महत्वपूर्ण सदस्य अन्जन विष्ट भने खेल्ने छैनन् । लगातार दुईवटा खेलमा पहेँलो कार्ड पाएका कारण उनले फाइनल खेल गुमाएका हुन् । बंगलादेशविरुद्धको खेलमा अञ्जन विष्टले नै बराबरी गोल फर्काएपछि नेपालले साफ च्याम्पियनसिपको पहिलोपटक फाइनलमा स्थान बनाएको थियो । साफमा भारतले हालसम्म ७ पटक उपाधि जितिसकेको छ।
यस पटक भारत लिग चरणको विजेताको रुपमा र नेपाल उपविजेताको रुपमा फाइनलमा पुगेका हुन् । भारतले समूह चरणमा दुई जित र दुई बराबरीको नतिजा सहित ८ अंक बटुलेको छ । नेपालले २ जित, एक बराबरी र एक हारको नतिजासहित ७ अंक प्राप्त गरेको छ ।