गलेश्वर, २५ असोज । बाढीपहिरोका कारण जेठको दोस्रो सातादेखि अवरुद्ध भएका म्याग्दीका ग्रामीण सडक पाँच महिना पछि बल्ल खुल्न थालेका छन् ।
वर्षा सुरु भएसँगै बाढी पहिरोले यहाँका सबै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएका थिए । त्यसयता पटकपटक पहिरो पन्छाउँदै केही दिन सडक खुलेका भएपनि लामो समय चल्न सकेका थिएनन् ।
स्थानीय तहले सडक खुलाउने प्रयास गरेपनि लगातार भइरहेको वर्षाले पटकपटक अवरुद्ध हुँदै आएका सडक वर्षा रोकिएपछि दसैँको मुखैमा बल्ल खुल्न थालेका हुन् । स्थानीय तहले डोजर, स्काभेटरको प्रयोग गरेर सडक खुलाएको हो ।
वर्षाका कारण अवरुद्ध बनेका ग्रामीण सडक दसैँ, तिहारजस्ता चाडपर्व नजिकिएसँगै पालिकाले खुलाउन थालेको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए । नगर पािलकाका सबै वडामा पुग्ने सडक अहिले सञ्चालनमा आउन थालेको बेनी नगरपालिकाले जनाएको छ ।
पश्चिम म्याग्दीको मालिका र धौलागिरि गाउँपालिकाले चाडपर्व मान्न गाउँ फर्केका नागरिकलाई सहज बनाउने उद्देश्यले अवरुद्ध सडक खुलाउन थालेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।
रघुगङ्गा गाउँपालिकाले पनि पनि सबै ग्रामीण सडक सञ्चालन गर्न थालेको छ । ‘केही दिनयता ग्रामीण सडक खुलाउने काम तीव्र गतिमा भइरहेको छ, दसैँमा घर जान नागरिकलाई कुनै दुःख हुँदैन’, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।
अवरुद्ध भएका ग्रामीण सडकसँगै बेनी–दरबाङ सडकखण्डमा पनि कुनै समस्या नभएको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । गाउँ आउने यात्रुलाई सहज हुने गरी सडक खुलाइएको उनको भनाइ छ । कठिन भूगोल भएका धौलागिरि, मालिका र मङ्गला गाउँपालिकाका प्रायः सबै सडक सञ्चालनमा आइसकेका स्थानीय बासिन्दाको भनाइ छ ।
त्यसैगरी अन्नपूर्ण गाउँपालिकाभित्रका सडक पनि सञ्चालनमा आउन थालेका गाउँपालिकाका प्रवक्ता तथा वडा नं ६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए । पालिकाभित्र पर्ने सबै सडकमा गाडी गुड्ने गरी काम भइरहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।
उता बेनी–जोमसोम सडकखण्ड पनि केही दिनयता नियमितरुपमा सञ्चालनमा छ । अघिल्लो साता काभ्रेभिर पहिरो गएपछि तीन दिनसम्म सडक अवरुद्ध भएको थियो । त्यहाँको सडक मर्मत गरेर यातायात सञ्चालन गरिएसँगै अहिले सो सडकखण्डमा कुनै समस्या नभएको स्थानीय पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए ।
बेनी–रत्नेचौर-बागलु, बागलु-रत्नेचौर-भकुण्डे, बेनी-मालढुङ्गा, बेनी-लभ्लीहिल-भकुण्डे, बेनी-बगरफाँट–बरङ्जा, बेनी-पुलाचौरलगायतका सडक पनि सञ्चालनमा आएका छन् ।