समय छोटो छ तर केही न केही गरेरै छाड्छौँ: सहरी विकासमन्त्री झाँक्री
अखबार टुडे
प्रकाशित:
२०७८, २३ आश्विन

काठमाडौं, २३ असोज । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सरकारलाई सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
नेकपा (एकीकृत समाजवादी) तनहुँले दसैँका अवसरमा शनिबार दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले सरकार सबै नागरिकको भएको बताइन् ।
मन्त्री झाँक्रीले पार्टीले आफूहरूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताइन् । भ्रष्टाचार, कुशासन, गैरजिम्मेवारीपनको प्रवृत्तिका विरुद्धमा विगतदेखि नै लड्दै आएको र आगामी दिनमा पनि सोहीविरुद्ध लड्ने मन्त्री झाँक्रीले उद्घोष गरे ।
मन्त्री झाँक्रीले समय धेरै नभएकाले जनअपेक्षाअनुसार काम गर्ने बताउँदै भने, ‘हामीसँग समय छैन भनेर बस्ने छुट छैन, समय छोटो छ तर केही न केही गरेरै छाड्छौँ ।’
मन्त्री झाँक्रीले न्यायोचित विकासको पक्षमा रहेर काम गर्ने बताउँदै भने, ‘गुल्मीले मन्त्री पायो भन्दैमा गुल्मीमा मात्रै विकास होइन, जुम्ला र हुम्लामा पनि विकास हुनुपर्छ, न्यायोचित विकासको पक्षमा म छु ।’ मन्त्री झाक्रीले स्मार्ट सिटी मात्र नभई बस्न योग्य सहर बनाउनेतर्फ मन्त्रालयले ध्यान दिने बताइन् ।

प्रतिक्रिया