
काठमाडौं, २१ असोज । प्रदेश १ र वागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीको सरकार बन्ने भएको छ । बिहीबार प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सत्तारुढ दलको बैठकमा सो सहमति भएको हो ।
मन्त्रिपरिषद विस्तारबारे बिहीबार सत्तारुढ गठबन्धन दलहरुको बैठक सहभागी भएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ र वागमतीमा आफ्नो पार्टीको सरकार बन्ने सहमति भएको बताएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका हुन् । उनका अनुसार गठबन्धनबीच भएको सहमतिअनुसार प्रदेश १ मा राजेन्द्र राई र वागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।
एकीकृत समाजवादी प्रदेश १ को संसदीय दलको नेता राई हुन् भने वागमती प्रदेशको संसदीय दलको नेता पाण्डे हुन् । यी प्रदेशमा अहिले एमाले नेतृत्वको अल्पमत सरकार रहेको छ । प्रदेश १ मा भीम आचार्य नेतृत्वको र वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले असोज अन्तिम साता विश्वासको मत लिने तयारी गरिरहेका छन् । तर, उनीहरु अल्पमतमा रहेका छन् भने पाँच दलीय गठबन्धन बहुमतमा रहेका छन् ।
एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले दुवै प्रदेशमा आफ्नो दलको नेतृत्वमा सरकार बन्नुपर्ने अडान राख्दै आएका थिए । तर, कांग्रेस यि दुईमध्ये एक प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार निर्माण गर्नुपर्ने अडानमा थियो ।
संघीय सरकारमा एकीकृत समाजवादी पार्टीले मन्त्रीको संख्या कम पाएकोले यो दुवै प्रदेशमा सरकार बनाउने मौका पाएको हो । दुवै प्रदेशमा एकीकृत समाजवादीलाई नेतृत्व दिनेबारे अन्तिम अवस्थामा सत्तारुढ गठबन्धनबीच सहमति भएको हो ।
