साफ च्याम्पियनसिप : रोमाञ्चक खेलमा श्रीलंका २२ वर्षपछि नेपालसँग पराजित
अखबार टुडे
प्रकाशित:
२०७८, १८ आश्विन

काठमाडौं, १९ असोज । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपालले दोस्रो खेलमा पनि जित हात पारेको छ ।
सोमबार राति नेपाल र श्रीलंकाको रोमाञ्चक खेलमा नेपालले ३–२ गोलले पराजित ग¥यो । जुन २२ वर्षपछिको जित हो । पछिल्लो पटक नेपालले साफमा श्रीलंकालाई सन् १९९९ मा हराएको थियो ।
नेपालका लागि खेलको ३३ मिनेटमा सुमन लामाले गोल गरेर अग्रता दिलाएका थिए । सुमनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । खेलको ५१ मिनेटमा अन्जन विष्टले नेपालका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर गर्न सफल भए ।
तर, ५७ मिनेटमा श्रीलंकाले गोल फर्कायो । उसका लागि मार्भिन हामिल्टनले लङरेन्ज प्रहारमार्फत बललाई जाली चुमाए । त्यस्तै,खेलको ८६ मिनेटमा तेज तामाङको क्रसमा आयुषले उत्कृष्ट फिनिसिङ गर्दै नेपालका लागि तेस्रो गोल गर्न सफल भए । जुन आयुषको पनि यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।
दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गौतम श्रेष्ठले ह्यान्ड गरेपछि श्रीलंकाले पेनाल्टी पायो। प्राप्त पेनाल्टीमा डि सिल्भाले गोल गरे ।
जितसँगै नेपाल दुई खेलबाट ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थनमा उक्लिएको छ । दोस्रो स्थानको बंगलादेशको ४ अंक छ । बंगलादेशले सोमबार साँझ भारतलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।

साफमा नेपालको खेल
नेपाल भर्सेस माल्दिभ्स – असोज १५ गते – राति ९ः४५ बजे (नेपाल १–० ले विजयी)
नेपाल भर्सेस श्रीलंका – असोज १८ गते – राति ९ः४५ बजे (नेपाल ३–२ ले विजयी)
नेपाल भर्सेस भारत – असोज २४ गते – राति ९ः४५ बजे
नेपाल भर्सेस बंगलादेश – असोज २७ गते – अपरान्ह ४ः४५ बजे

प्रतिक्रिया