
काठमाडौं , १६ असोज। नेकपा एमालेको प्रथम विधान महाधिवेशनको दोस्रो दिन शनिबार समूहगत रुपमा छलफल भयो । छलफलका क्रममा नेतृत्वले विधान महाधिवेशनलाई केपी शर्मा ओलीमय बनाउने प्रयास गरिरहेको मात्र बताएनन्, उनीहरुले पार्टीलाई व्यक्तिवादी नभइ पार्टीको नीतिलाई स्थापित गर्नुपर्नेमा समेत जोड दिए ।
शुक्रबार ललितपुरको गोदाबरीमा सुरु भएको विधान महाधिवेशनमा भएको समूहगत छलफलको निष्कर्ष सुनाउनेक्रममा टोली नेताहरुले असन्तुष्टि पोख्दै यस्तो धारणा राखेका हुन् । पार्टीमा अध्यक्ष केपी ओली हावी भएको र विधान महाधिवेशनलाई भन्दा ओलीको बढी वाहवाही भइरहेको प्रति प्रतिनिधिको असन्त्ष्टि देखिएको छ ।
हुन पनि विधान महाधिवेशनलाई भन्दा अध्यक्ष ओली लक्षित प्रचार बढी गरिएको देखिन्छ । विधान महाधिवेशन स्थलमा ओलीको ठूला ठूला पोस्टरमात्र नभएर विजुलीको खब्बा खब्बामा समेत ओलीको तस्बिर अंकित पोस्टर टाँसिएको देख्न सकिन्छ । जसको सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ ।
यसैबेला विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले समेत व्यक्तिवादी भएको निष्कर्ष निकालेका छन् । प्रदेश १ को टोली नेता भानुभक्त ढकालले पार्टी एकतामा विलम्ब भएको र कामरडेली भावनाबाट च्यूत हुँदै गएको बताए । उनले व्यक्ति होइन, पार्टी र नीति स्थापित गर्नुपर्नेमा जोड दिए ।
यस्तै, बाग्मती प्रदेशका टोली नेता आनन्द पोखरेलले पनि व्यक्तिलाई ब्राण्डिङ गर्ने कि नगर्ने भन्नेमा मत बाझिएको बताए । सरकार र पार्टीको सम्बन्ध प्रष्ट पार्नुपर्ने भन्दै उनले नजिक हुनेहरुले मात्र अवसर पाएकाले विधि बनाउनुपर्नेमा जोड दिए ।
समूहगत छलफलमा नेताहरुले उपाध्यक्षको संख्या अझ बढाउनुपर्ने, उपहासचिव पद कायमै राख्नुपर्ने मत राखेका छन् । हाल विधान संशोधन प्रस्तावमा पाँच उपाध्यक्ष प्रस्ताव गरिएको छ भने उपमहासचिव पद खारेज गर्ने प्रस्ताव छ ।
लुम्बिनी प्रदेशका टोली नेता लीला गिरीले वरिष्ठसहित ७ उपाध्यक्ष बनाउनुपर्ने बताए । प्रदेश १ का टोली नेता ढकालले पनि वरिष्ठसहित ६ उपाध्यक्ष हुनुपर्ने र एक उपमहासचिव राख्नुपर्ने समूहको निष्कर्ष प्रस्तुत गरेका छन् ।
