सर्वदलीय बैठकमा दलहरुले के भने ?
अखबार टुडे
प्रकाशित:
२०७८, १४ आश्विन

काठमाडौं, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को गतिरोध अन्त्य गर्न बोलाएको सर्वदलीय बैठक सकिएको छ ।
बिहीबार बसेको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा एमाले सहभागी नभएपछि सर्वदलीय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
सरकारका प्रवक्ता एवम् कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘उहाँहरु सम्वाद र वार्ताबाट पर भाग्न खोजेको देखिन्छ, जुन मुलुकको आवश्यकता भन्दा भिन्न छ ।’ सर्वदलीय बैठकमा सहभागी दलहरुले संसदलाई निर्वाध र मर्यादित हिसाबले अगाडि बढाउन सकारात्मक भूमिका खेल्न विपक्षी दलका नेता केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतो लगायत नेताहरू सहभागी थिए ।
प्रमुख प्रतिपक्षी एमालेले भने बैठक बहिष्कार गरेको छ । एमालेले आफूले हटाएका १४ सांसद्लाई कारवाहीको सूचना टाँस गरी सभामुखले मार्गप्रसस्त नगरेसम्म संसद गतिरोधलाई लिएर डाकिएका कुनै पनि बैठकमा सहभागी नहुने एमालेले जनाएको हो ।

प्रतिक्रिया