ल्याण्डिङ गियरमा समस्या भए पनि दुई घण्टापछि विमानको सफल अवतरण
अखबार टुडे
प्रकाशित:
२०७८, ११ आश्विन

काठमाण्डौ, ११ असोज । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सोमबार बिहान अवतरण गर्न लागेको बुद्ध एयरको विमान रनवेमा अवतरण हुनै लाग्दा पांग्रा नखुलेपछि आकाशमै फर्किएको थियो ।
बुद्ध एयरको सो विमान सोमबार बिहानै विराटनगरतर्फ उडेको थियो । तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो र सो विमान करिब दुई घण्टा आकाशमै फन्को मारेपछि विमान त्रिभुवन विमानस्थलमा १० बजेर २० मिनेटमा सुरक्षित रुपले ल्याण्ड भएको छ ।
जहाजको सामान्य अवतरण भएको र चालक दलका सदस्य तथा सबै यात्रुहरू सकुशल रहेको विमानस्थल कार्यालयले जनाएको छ । बुद्ध एयरकाअनुसार टावरबाट ल्यान्डिङ गियर खुलेको र सुरक्षित तरिकाले अवतरण गर्न सक्ने सुनिश्चित गरिएपछि चालकले जहाज अवतरण गराएका थिए । जहाजमा ७३ यात्रु र चालकदलका ४ सदस्य थिए ।
जहाजलाई प्राथमिकतामा राखेर सफलतापूर्वक अवतरण गराइएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो ।

प्रतिक्रिया