दशैंमा घर जानेहरुका लागि अग्रिम टिकट बुकिङ खुला
अखबार टुडे
प्रकाशित:
२०७८, ११ आश्विन

काठमाडौं, ११ असोज । सोमबारदेखि दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । सरकारले सोमबारदेखि दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो ।
यातायात व्यवस्था विभागका अनुसार अग्रिम टिकट बुकिङका लागि उपत्यकाका विभिन्न १४ स्थानमा हेल्प डेस्क स्थापना गरिएको छ । यात्रुको चापलाई ख्याल गर्दै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ थप गरेको हो ।
दसैँ नजिकीएसँगै काठमाडौं उपत्यका छोड्ने क्रम सुरु भएको छ । घर जानेहरू बिहानैदेखि नयाँ बसपार्कलगायतका स्थानमा टिकट बुकिङका लागि पुगेका छन् ।
यस्तै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले अग्रिम टिकट बुकिङ खुलिसकेको बताए । बिहान ७ बजेदेखि टिकट बुकिङ सुरु भएको उनले जानकारी दिए ।
सरकारले देशभर लागू हुने गरी सार्वजनिक यातायातमा नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयनमा आएको जनाएको हो ।
छोटो, मध्यम र लामो दूरीको छुट्टाछुट्टै भाडादर कायम गरिएको छ । विभागले देशभरका कुल २ सय ८६ रुटको भाडादर समायोजन गरेको छ । विभागले यात्रुवाहक यातायातमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २६ प्रतिशत भाडा बढाएको छ ।

प्रतिक्रिया