सङ्खुवासभा हत्या काण्ड : प्रहरीद्वारा मुख्य योजनाकारसहित चार जना सार्वर्जनिक
अखबार टुडे
प्रकाशित:
२०७८, ४ आश्विन

सङ्खुवासभा, ४ असोज । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँस्थित एकै परिवारका ६ जनाको सामूहिक हत्यामा संलग्न मुख्य योजनाकारसहित थप चार जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय खाँदबारीमापत्रकार सम्मेलन गरी हत्याकाण्डमा प्रत्यक्ष संलग्न रहेको आरोपमा मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश कार्कीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

घटनाको मुख्य योजनाकार मृतक तेजबहादुरका काकाको छोरा भाइ खड्गबहादुर रहेको प्रहरी अनुसन्धानबाट खुलेको सङ्घीय प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले बताउनुभयो । उहाँको अनुसार, उनीहरुले तेजबहादुरको हत्या गर्न सामूहिक योजना बनाएको खुलेको छ । अभियुक्तहरुले रणबहादुर कार्कीको घरमा घटना घटेको अघिल्लो दिन हत्या योजना बनाएर भोलिपल्ट बिहान तेजबहादुर कार्कीलगायत परिवारका ६ जनाको सामूहिक हत्या गरेको स्वीकार गरेका छन् ।
पक्राउ परेका अभियुक्तले आफूलाई होच्याउने, अपशब्द बोल्ने, हेप्ने, सधैँ गालीगलौज गर्ने गरेकाले हत्या गरेको बयान दिएको सङ्घीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दाहालको भनाइ छ ।

गत भदौ २१ गते उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, उहाँकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।

एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । मृतक रञ्जनाको हराएको मोबाइल गत शुक्रबार फेला पारेपछि प्रहरीको अनुसन्धान टोली पुन : घटनास्थल पुगेको हो ।

घटनाबारे थप अनुसन्धान गर्ने शुक्रबार सङ्घीय इकाई प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल खोला गाउँ पुगेको छ । लोकबहादुरको बयानका आधारमा चार जनालाई पक्राउ गरिएको सुवेदीले बताए । पक्राउ परेका चारै जना मृतक तेजबहादुरका छिमेकी हुन् ।

प्रतिक्रिया