
काठमाडौं, २७ भदौं । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या गरेको आरोप लागेका लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
हिजो पक्राउ परेका २६ वर्षीय कार्कीलाई आइतबार सार्वजनिक गरेको हो । लोकबहादुरले हत्या गरेको स्वीकार गरेका सङ्खुवासभा प्रहरीले जनाएको छ ।
आफूमाथि गरेको अपमानको बदला लिन सुरुमा तेजबहादुरको हत्या गरेको र त्यसलाई लुकाउन अन्यको हत्या गरेको बयान उले दिएका छन् । उनले शनिबार बिहान घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । आफ्नो टार्गेटमा तेजबहादुरमात्रै रहेको भएपनि उनलाई हत्या गरेको अरुले देखेपछि घटना लुकाउन थप हत्या गरेको उनको भनाइ छ ।
भदौ २१ गते मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरकै ११ वर्षीय नाती दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।
