संखुवासभा घटना : आरोपीले प्रहरीसँग भने, ‘देख्ने सबैलाई सिध्याएँ’
अखबार टुडे
प्रकाशित:
२०७८, २७ भाद्र

संखुवासभा, २७ भदौं । यही भदौ गते बिहान संखुवासभाको मादी–१ उम्लिङमा भएको घटनाका आरोपीले अपराध मात्र स्वीकारेका छैनन्, उनले त्यो बेला देख्ने सबैलाई मार्ने योजना बनाएको बताएका छन् । एकै परिवारको ६ जनाको बीभत्स हत्या गरेको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले प्रहरीसँग आफ्नो अपराध स्वीकार्दै त्यो बेला देख्न सबैलाई मारेको प्रहरीसँग बयान दिएका हुन् । उनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

शुक्रबार रातीदेखि अनुसन्धान गर्दै सोधपुछ गरेपछि शनिबार बिहान आरोपीले घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै आफ्नो टार्गेटमा तेजबहादुर मात्रै रहेको बताए । तर, तेजहादुरलाई मारेको देखेका सबैलाई सिध्याएको प्रहरीलेसँग उनले बताएका छन् ।

भदौ २१ गते मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरकै ११ वर्षीय नाती दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

हत्याको भोलिपल्ट मात्रै अनुसन्धान अधिकारीहरू पुगेपछि शव उठाइएको थियो । अनुसन्धानका लागि आवश्यक प्रमाणहरू जुटाएपछि शव परीक्षणका लागि धरान पठाइएको थियो भने प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान टोलीले घटनाका सम्बन्धमा अनुसन्धान गर्दै खोजी गरेको थियो ।

सुरुमा ६ जनाको हत्या हुँदा घटना लुटपाट वा लेनदेनको उद्देश्यबाट भएको हुनसक्ने अनुमान गरिएको थियो । तर, घटनापछि घरको खानतलासी गर्ने क्रममा लुटपाट भएको नभेटिएपछि तेजबहादुरसँग लेनदेन रहेका व्यक्तिहरूको खोजी गरिएको थियो । तर, लेनदेनमा संलग्न व्यक्ति पनि घटनामा संलग्न हुने सम्भावना ज्यादै कम देखिएपछि प्रहरीले घटना रिसिइबी वा तत्कालीन आवेगमा केन्द्रित रहेको भन्दै त्यसैतर्फ अनुसन्धान केन्द्रित ग¥यो । र, भदौ २६ गते शनिबार बिहानै अभियुक्त लोकबहादुर कार्कीले अपराध स्वीकारेका थिए ।

प्रतिक्रिया