
काठमाडौं, २७ भदौं । समता फाउण्डेशनले शुरु गरेको ’जातको प्रश्न’को दोस्रो सिजन आउँदो अक्टोबर ८ देखि शुरु हुने भएको छ ।
फाउण्डेशनले जातलाई सबैको साझा मुद्दा बनाएर सबै जातजातिले यसमा संवाद गर्नुपर्ने बताउँदै शनिबार एक कार्यक्रमका बीच दोस्रो सिजनको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा महानायक राजेश हमालले जतिसुकै राम्रो संविधान बनाए पनि जातीय समस्या व्यवहारमा उतार्न ठूलो चुनौति रहेको बताए । उनले एक मानवले अर्को मानवमाथि गरेको विभेदले आफूलाई सताइरहेको बताए ।
कार्यक्रममा अभिनेता दयाहाङ राईले जातको आधारमा गरिने विभेद कुनै एउटा समुदायको मात्रै चासोको विषय नभएको बताए । उनले समाजमा जातकै आधारमा विभेद गरिनु समाजकै ठूलो समस्या भएको बताए ।
कार्यक्रममा उपस्थित गायक प्रकाश सपुत, सञ्चारकर्मी निष्मा चौधरी ढुंगाना, महिला आयोगकी पूर्व सदस्य मोहना अन्सारी, निर्देशक शान्ता नेपालीले जाती विभेद समाजको एउटा प्रमुख समस्या रहेकोले यसलाई कम गर्न जातको प्रश्नले महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।
जातको प्रश्नको दोस्रो सिजन महानायक राजेश हमाल, अभिनेता दयाहाङ राई, गायक प्रकाश सपुत, सञ्चारकर्मी निष्मा ढुंगाना चौधरी, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व अध्यक्ष मोहना अन्सारीले सञ्चालन गर्नेछन् ।
जातको प्रश्नको दोस्रो सिजन १२ अंकको हुनेछ भने शान्ता नेपालीको निर्देशनमा बन्ने जातको प्रश्नको दोस्रो श्रृंखलामा नेपालका दलितहरुले भोगिरहेको जीवनको यथार्थ र अनुभवका कुराहरुलाई समेटिनेछ ।
