
काठमाडौं, २५ भदौं । तालिबानले विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै दुई जना पत्रकारलाई निर्घात कुटपिट गरेको बीबीसीले जनाएको छ ।
एटिलाट्रोज अखबारका रिपोर्टर ताकी दरयाबी र फोटो पत्रकार नेमतुल्लाह नकदीलाई तालिबानले निर्घात कुटपिट गरेको हो । गएको बुधवार काबुलमा महिलाहरूले गरेको प्रदर्शनमा रिपोर्टिङ गरिरहेका उनीहरूलाई तालिबानले पक्राउ गरी प्रहरी थाना लगेर हिरासतमा राखेको र कुटपिट गरी छाडिदिएको खबरमा उल्लेख छ ।

कुटपिटका कारण शरीरमा नीलडाम रहेका उनीहरूको तस्बिर सार्वजनिक भएका छन् । चौकीमा आफूहरूलाई लट्ठी, बिजुलीका तार र कोर्राले हिर्काइएको र केही घण्टापछि कुनै जानकारीविना छाडिदिएको उनीहरूले बताएका बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सीपेजीका अनुसार पछिल्लो दुई दिनमा तालिबानले १४ जना पत्रकारलाई पक्राउ गरेर छाडेको छ ।

यस्तै, तालिवानले अफगानिस्तानस्थित राष्ट्रसंघका कर्मचारीमाथि बारम्बार दुव्र्यवहार गरेको राष्ट्रसंघले जनाएको छ । तालिवान शक्तिमा पुगेपछि आफ्ना कर्मचारीमाथि दुव्र्यवहार बढेको अफगानिस्तानका लागि राष्ट्रसंघका विशेष दूत डेबोराह लायन्सले गुनासो गरे । ‘हाम्रा कर्मचारीमाथि अपमान र दुव्र्यबहारका घटनामा भइरहेको बृद्धिप्रति हामी चिन्तित छौं,’ सुरक्षा परिषदको वैठकलाई सम्बोधन गर्दै लायन्सले भने ।
यसअघि तालिवानले सत्ता कब्जा गर्नुअघि कर्मचारीलाई धम्की, गालीग्लौज र दुव्र्यबहार गरेको रोयर्टसले जनाएको थियो । ‘अफगान जनताका लागि आवश्यक काम राष्ट्रसंघले गर्न सक्दैन किनकी हाम्रा कर्मचारीमाथि तालिवान लडाकुले अनावश्यक त्रास र धम्की दिएका छन,’ लायन्सले भने ।
तालिवानले मानिसको अधिकारको सम्मान गर्ने पश्चिमा मुलुकलाई बताए पनि उनीहरुले बारम्बार दुव्र्यबहार गरेको विवरण सार्वजनिक हुने गरेका छन् । राष्ट्रसंघका कर्मचारीमाथिको दुव्र्यबहारबाट आफू आक्रोेशित भएको अमेरिकी कूटनीतिज्ञ जेफ्री डीलाउरेन्टिसले भने ।
