काठमाडौं, २० भदौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले जसले एमसीसी गर्छ, तिनीहरु नेपाली मन नभएकाहरु नभएको बताएका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उनले एमसीसी सम्झौतालाई संसद्मा पेश गरेर पारित गर्ने काम गरिए नेपाल उपनिवेशीकरणरित धकेलिने बताए । नेता रावलले सुरुदेखि नै एमसीसीको विरोध गर्दै आएका हुन् ।
एमसीसी सम्झौताको पुनरावलोकन गर्ने अधिकार एमसीसीलाई मात्रै रहेको बताउँदै रावलले भने, ‘नेपाल सरकारको निर्णय गर्ने अधिकारलाई सिमित पारिएको छ । सरकारले कुनै निर्देशन दिन नसक्ने, नीति निर्माण गर्न नसक्ने र जुन मिलिनियम च्यालेन्ज अकाउन्ट भन्ने कार्यालय खोलेको छ, बोर्डको प्रमुख पनि नेपालकै तर त्यो बोर्ड र त्यो मिलेनियम च्यालेन्ज एकाउन्टले नेपाल सरकारको कुनै निर्देशन नमान्ने भनिएको छ । के अमेरिकाले आफ्नो देशको कुनै कार्यालयलाई त्यसरी विदेशीको निर्देशनमा राख्न तयार हुन्छ ?’
एमसीए नेपाल पनि नेपाल सरकारप्रति उत्तरदायी नहुने भनिएकोमा आपत्ति जनाए । उनले नेपालले १३ अर्ब लगानी गर्ने भनिएको उल्लेख गर्दै उक्त कार्यक्रम लागु भएन भने नेपालले लगानी गर्ने रकम फिर्ता हुन्छ कि हुँदैन भन्ने सम्झौतामा केही नलेखिएको बताए । अमेरिकी सुरक्षा र स्वार्थ प्रतिुकल भए एमसीसी तत्काल खारेज हुनेछ भनेर लेखिएका बताउँदै उनले भने, ‘एमसीसीले दिएको सुझाव नेपाल सरकारले मान्नुपर्छ पनि भनिएको छ । यस्तो पनि सम्झौता हुन्छ ?’
बहुचर्चित अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई लिएर पछिल्लो समय गठबन्धन दलभित्र समेत दुई खेमा देखिएका छन् । यसैबेला नेता भीम रावलले नेपालले जुनै पनि हातमा एमसीसी सम्झौता गर्नु नहुने बताएका हुन् ।