
काठमाडौं, १८ भदौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान गरेका छन् ।
उनले कांग्रेसको वैधानिकता जोगाउनका लागि कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच महाधिवेशन गर्नुपरेको उल्लेख गर्दै महाधिवेशनलाई सफल बनाउन स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अधिवेशनमा सहभागी हुन सबैमा आह्वान गरेका हुन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा आयोजित वडा अधिवेशनको आज उद्घाटन गर्दै उनले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने बताए । देउवाले अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेर पार्टीमा एकताको सन्देश दिन आग्रह गर्दै महाधिवेशन पार्टीलाई एकतावद्ध बनाएर लैजाने र आगामी कार्यकालको लागि कार्यनीति र नेतृत्व चयन गर्ने थलो हो भनेका छन् ।
नेकपा एमालेका एक नेताले भक्तपुरमा चुनाव लड्न गरेको चुनौतीको जवाफदिँदैं प्रधानमन्त्री देउवाले आफूसँग नभई जिल्ला सभापति दुलर्भ थापालाई निर्वाचनमा हराएर देखाउन चुनौती पनि दिए । प्रधानमन्त्री देउवाले आगामी चुनावमा कांग्रेसको उपस्थिति बलियो रहने बताउँदै भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको बताए ।
उनले पार्टीे महाधिवेशनको प्रक्रिया सुरुआत भएको भन्दै लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गरी पार्टीलाई थप सशक्त ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गरे ।
