विराटनगर, १६ भदौ । प्रदेश १मा नेकपा एमालेका १० जना सांसदहरुले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । उनीहरुले प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गराएका हुन् ।
एकीकृत समाजवादी पार्टी रोज्नेहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा छन् ।
१० जनाले सांसदहरुले एकीकृत समाजवादी पार्टी रोजेकाले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य भने अल्पमतमा परेका छन् । माधव नेपाल खेमा छाडेर केपी ओली खेमामा लागेका आचार्य १० भदौमा प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए । अल्पमतमा परेपछि उनले अब विश्वासको मत लिनुपर्ने भएको छ ।
९२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ५१ सांसद छन् भने नेपाली काङ्ग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीमा ३ र अन्य दुई साना दलाका १–१ जना सांसद छन् ।