
काठमाडौं, १५ भदौं । दार्चुलाको तुइन घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता रहेको छानविन समितिले ठहर गरेको छ ।
गृह मन्त्रालयले जयसिंह धामी तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे गठन गरेको छानबिन समितिले घटनामा भारतीय एसएसबीको संलग्नता रहेको ठहर गरेको हो । समितिले मंगलबार नै गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ ।
गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समितिले उक्त घटना भारतीय एसएबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादिक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ ।’
गत साउन १५ गते दार्चुलाका जयसिंह धामी तर्ने क्रममा तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका थिए । धामी अझै बेपत्ता छन् । बेपत्ता धामीको खोजीमा समेत सरकारले बेवास्ता गरेको भन्दै आलोाचना भइरहेका बेला समितिले प्रतिवेदन सार्वजनिक गरेको हो ।

