काठमाडौं, १५ भदौ । श्रीलङ्काको राष्ट्रिय ध्वजावाहक श्रीलङ्कन एअरलाइन्सले मङ्गलवारदेखि काठमाण्डौ–श्रीलङ्का सिधा उडान गर्ने भएको छ ।
श्रीलङ्कन एअरले तत्काललाई हप्तामा दुई दिन मङ्गलवार र शनिवार कोलम्बो–काठमाण्डौ–कोलम्बो उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्यसपछि यात्रुको चापअनुसार उडान सङ्ख्या थपघट गर्ने तयारी छ ।
एअरलाइन्सले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान गर्ने इच्छा व्यक्त गरेको छ । भैरहवामा कम्तीमा एक उडान गर्नेछ । यो उडान दैनिक या हप्तामा भन्ने यकिन भइसकेको छैन ।
नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार रोजगारीका लागि श्रीलङ्का जाने नेपालीलाई लक्षित गरेर उडान सुरु गरिएको र यसले अवस्था सामान्य भएपछि पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ ।
हाल एयरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुबई उडान गरिरहेको छ । एयरलाइन्सले आगामी सेप्टेम्बरदेखि जापान, अस्ट्रेलिया र लन्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ ।