मन्त्रालयको टुंगो लागेपछि मात्र एकीकृत समाजवादी सरकारमा सहभागी हुने
अखबार टुडे
प्रकाशित:
२०७८, ११ भाद्र

काठमाडौं, ११ भदौं । सत्तारुढ गठबन्धन सरकारमा नेकपा (एकीकृत समाजवादी) पनि सहभागी हुने भएको छ । शुक्रबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

औपचारिक रुपमा पार्टी दर्ता भएपछि पहिलो पटक बिहीबार आयोजित पत्रकार सम्मेलनमै सरकारमा सहभागी हुने घोषणा गरेको थियो । नेकपा एमालेबाट विभाजन भइ नेकपा एकीकृत समाजवादी दर्ता भएपछि सरकारमा सहभागी हुने बाटो खुलेको हो ।

सरकारमा जाने निर्णय गरेपनि मन्त्रालय टुंगो लागेपछि मात्रै गर्ने सहभागी हुने समाजवादीले निर्णय गरेको छ । ‘सत्ता साझेदार दलहरुबीच मन्त्रालय टुंगिएपछि मन्त्री चयन गर्ने निर्णय भएको छ,’ समाजवादीका एक नेताले भने । त्यसो त गठबन्धन दलबीच मन्त्रालयको भागबडा मिलिसकेको बताइएको छ । तर, कुन दललाई कुन मन्त्रालय भन्ने निर्णय भएको छैन ।

माधवकुमार नेतृत्वको एकीकृत समाजवादीलाई कुर्दा मन्त्रिपरिषद विस्तारमा समेत ढिलाइ भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत समाजवादीको निर्णय कुरेर बसेका छन् । तर, माधव पक्ष २ भदौमा नेकपा एमालेबाट अलग भएर एकीकृत समाजवादीले बुधबार वैधानिकता पाएपछि मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ ।

‘हामीले सरकारमा सहभागी हुने निर्णय गरेका छौं’ ती नेताले भने, ‘मन्त्रालय संख्या पनि लगभग टुंगिएको छ, । तर कुन–कुन मन्त्रालय लिने भन्ने टुंगो लागेको छैन ।’ सत्ता साझेदार दलका नेताहरुबीच एकीकृत समाजवादीले पाँच मन्त्रालय लिने भद्र सहमति भएको बताइएको छ ।

प्रतिक्रिया