सक्रिय मनसुन शनिबारदेखि केही कमजोर हुने
अखबार टुडे
प्रकाशित:
२०७८, ११ भाद्र

काठमाडौं, ११ भदौ । विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो ।
शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । ‘मौसममा सुधार हुने भनेर पानी नै नपर्ने हुँदैन, मनसुनको समय अझै बाँकी छ, विगत केही दिन अगाडिको जस्तै लगातारको झरी भने कम हुनेछ’, उनले भने ।
देशभर सामान्यदेखि पूर्ण बदली तथा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ । देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश नं १, २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक÷दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया