यस्तो छ मंगलबार, बुधबार र बिहीबारको देशभरको मौसम
अखबार टुडे
प्रकाशित:
२०७८, ८ भाद्र

काठमाडौं, ८ भदौं । हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा केही दक्षिणतिर रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ ।

आज (मगंलबार) देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।

बुधबार देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

बिहीबार देशको अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश नं २ का थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।

प्रतिक्रिया