को–को हुन् नेता नेपालको साथ छोडने प्रभावशाली नेताहरु ?
अखबार टुडे
प्रकाशित:
२०७८, ३ भाद्र

काठमाडौं, ३ भदौं । नयाँ दल दर्ताको प्रक्रियासँगै एमालेका माधव नेपाल समूह विभाजित भएका छन् । पार्टी विभाजनको बेला आइपुग्दा नेपालसँग रहेका दोस्रो र तेस्रो पुस्ताका प्रभावशाली नेताहरुले पार्टी एकताको पक्षमा भन्दै साथ छोडेका छन् ।

स्थायी कमिटी सदस्यमध्ये युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रघुजी पन्त र अमृत कुमार बोहोराले नेपालको साथ छाडेका हुन् । वेदुराम भुसाल र मुकुन्द न्यौपानेले भने उनलाई साथ दिएका छन् ।

यस्तै उपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी गठनमा हस्ताक्षर गरेका छैनन् । नेता झलनाथ खनालको पनि आधिकारिक निर्णय आइसकेको छैन । प्रदीप नेपालले बिहीबार नेपालकै पक्षमा रहेको बताएका छन् ।

यस्तै नेताहरु ठाकुर गैरे, अरुण नेपाल, परशुराम मेघी, श्रीमाया थकाली, जीवन घिमिरे, टङ्क कार्की, ममता गिरी, यज्ञराज सुनुवार, सीता गिरी, नरेश खरेल, झपट रावल, कमलजंग राई दनुवार, गणेश पहाडी, प्रकाश शाह, माधव अर्याल, रचना खड्का, राजन राई, राजबहादुर बुढा, सुरेन्द्र मानन्धर, कृष्ण खनाल, हरिबहादुर राई, रविन कोइराला, केदार न्यौपाने, सोमप्रसाद पाण्डे र भानुभक्त जोशीले पनि नयाँ दल दर्ता प्रक्रियामा नेपालको साथ छाडेका छन् । ८९ जना केन्द्रीय सदस्यको साथ पाएका नेपालले पार्टी विभाजन गर्दा ३६ जना केन्द्रीय सदस्यको साथ गुमाएका छन् ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणिकरण गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न जारी गरिएको अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्याए दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

अध्यादेश प्रमाणिकरण भएसँगै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता महन्थ ठाकुरलाई नयाँ राजनीतिक दल गठन गर्ने बाटो खुला भएको थियो ।

प्रतिक्रिया