अष्टलक्ष्मी शाक्यले भनिन्, ‘सबैको साथ र समर्थनले मुख्यमन्त्री बनेकी हुँ’
अखबार टुडे
प्रकाशित:
२०७८, ३ भाद्र

काठमाडौं, ३ भदौं । बागमती प्रदेश मुख्यमन्त्री बनेपछि अष्टलक्ष्मी शाक्यले पार्टी एकतालाई कायम राख्न सबैको समर्थनमा आफू मुख्यमन्त्री बनेको प्रतिक्रिया दिएकी छन् । बुधबार राति बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईंको कार्यालयमा मुख्यमन्त्रीको सपथ ग्रहणपछि उनले केन्द्रीय नेतृत्वलाई एकताको सन्देश दिने उद्देश्यले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्ताव र एमालेका सबै सांसदको समर्थनमा आफू मुख्यमन्त्री भएको बताइन् ।

नेकपा एमाले उपाध्यक्षसमेत रहेकी मुख्यमन्त्री शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री हुन् । उनले भनिन्, ‘पार्टी एकतालाई जोगाउनका लागि विगतदेखि नै बागमती प्रदेशबाट सन्देश दिने पहल भएको तर केन्द्रीय समीकरण बदलिएका कारण सम्भव हुन सकेको थिएन ।’

मुख्यमन्त्रीको शपथ लिएलगत्तै शाक्यले २ जना मन्त्री नियुक्त गरेकी छन् भने आगामी एक महिना भित्रमा मन्त्रिपरिषद्ले पूर्णता दिने बताएकी छन् । आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा केशवराज पाण्डे र सामाजिक विकास मन्त्रीमा कृष्णप्रसाद खनाललाई नियुक्त गरेकी हुन् ।

दुवै मन्त्रीहरुले हिजो नै प्रदेश प्रमुख प्रसाईबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार ग्रहण गरिसकेका छन् । निवर्तमान मुख्यमन्त्री तथा मन्त्री, पूर्व मन्त्रीहरु र सबै सांसदहरुको सहयोग र समन्वयका आधारमा बागमती प्रदेश संचालन हुने उनले बताइन् ।

प्रतिक्रिया