
काठमाडौं, २ भदौं । अन्ततः नेकपा एमाले विभाजन भएको छ । एमाले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बुधबार पार्टी विभाजन गर्दै नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेलगत्तै माधव पक्षले नयाँ राजनीतिक दल गठनको प्रक्रिया अगाडि बढाएको हो । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजजीतिक दलसम्बन्धी अध्यादेशका सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीलाई गरिएको थियो ।
राष्ट्रपति कार्यालयले उक्त अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको उल्लेख छ । सोही अध्यादेशको जगबाट एमाले विभाजित हुने बाटो खुलेको हो । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।
विभाजित एमालेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ ने चुनाव चिन्ह खुल्ला किताब राखिएको छ । नेता मेटमणि चौधरीले निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिइसकेको बताए । नयाँ दलमा माधव नेपाल संयोजक र पार्टीका चुनाव चिन्ह ‘खुला किताब’ प्रस्ताव गरिएको छ ।
