एमाले विवाद : नेता नेपाल भन्छन्, ‘एकता गर्ने कुरामा कहिल्यै सहमति र विमति हुँदैन’
अखबार टुडे
प्रकाशित:
२०७८, २१ श्रावण

काठमाडौं, २१ साउन । नेपाल एमाले वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीसँग एकताको सम्भव नभएको संकेत दिएका छन् । नेता नेपालले ओलीसँग मिसिन ‘राजनीति आत्महत्या’ सरह हुने बताएपछि त्यो संकेत दिएका हुन् ।

बिहीबार आफू निकटको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता हुनुपर्ने स्पष्ट पारे । उनले भने, ‘सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म केपी ओलीसँग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हो ।’

नेता नेपालले सम्मानजनक हैसियतबिना ओलीसँग एकताको रटान गरेरमात्रै नहुने स्पष्ट पारे । ‘एकता गर्ने कुरामा कहिल्यै र कुनै सहमतिमा विमति हुँदैन’ उनले भने, ‘तर सम्मानजनक हैसियत बिनाको एकता भए भोलि उत्पन्न हुने दुष्परिणामको भागिदार म बन्नुपर्ने हुन्छ ।’

उनले अध्यक्ष केपी ओलीको पछिल्ला अभिव्यक्ति एकता गर्नेभन्दा पनि आफूहरुलाई एकताको बाटोबाट डिरेल गर्ने उद्देश्यबाट आएको दावी गरे । एकताकै लागि केपी ओलीकै मान्छेहरु पनि आएर आफूसँग बारम्बार छलफल गरिरहेका बताउँदै नेता नेपालले भने, ‘तर एकलौटी ढंगले केपी ओलीको एकलकाँटे कुरा रोकिएको छैन ।’

उनले एकता कसरी गर्ने भन्नेबारे कार्यदलमा रहेका नेताहरुले होमवर्क गरिरहेको उल्लेख गर्दै ओली पक्षले एकपक्षीय रुपमा जिल्ला अधिवेशन गर्नेदेखि विभागहरु गठन गर्ने निर्णय गर्नुले एकताको माहोल बिग्रिएको बताए ।

प्रतिक्रिया