काठमाडौं, ३ साउन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको बदर गरेसँगै पुर्नस्थापित भएपछि आज पहिलो बैठक बस्दैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेअनुसार बैठक बस्न लागेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित संसद् अधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट निकै चासोका साथ हेरिएको बताए । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले कोरोना संक्रमणको जोखिम कायममै रहेको बेला शुरू हुन लागेको अधिवेशन सञ्चालनकालागि स्वास्थ्य मापदण्डको पालनालगायत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
प्रधानमन्त्री भएको एक महिनाभित्र प्रधानमन्त्री देउवाले विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ । यही अधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने नपाउने टुंगो लाग्नेछ । बदलिँदो राजनीतिक घटनाक्रमसँगै नेकपा एमाले माधवकुमार नेपाल समूहका सांसदले मत नदिएको अवस्थामा प्रधानमन्त्री देउवाले विश्वासको मत लिन सक्ने अवस्था छैन ।
यस अधिवेशनमा २०७४ सालको निर्वाचनमा बहुमत प्राप्त गरी करिब साढे तीन वर्ष सरकार चलाएको नेकपा एमाले प्रमुख प्रतिपक्षको भूमिकामा देखिने भएको छ । प्रतिनिधिसभामा नेकपा एमालेको १ सय २१, नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ र जनता समाजवादी पार्टी नेपालको ३४ सिट छ ।
प्रनिनिधिसभामा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सिट छ भने छक्कबहादुर लामा स्वतन्त्र सांसदका हैसियतमा रहेका छन् । जनताको सार्वभौमसत्ता सम्पन्न थलो प्रतिनिधिसभामा मुलुक र जनताका सवालमा निकै महत्वपूर्ण मानिएका ५५ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन् ।