
काठमाडौं, १३ असार । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो प्रवाधानका साथ थप एक हप्ता लम्ब्याउने तयारी गरिएको छ ।
कोरोना भाइरसको सङ्क्रमण केही कम भए पनि जोखिम उस्तै रहेकाले थप एक हप्ता लम्ब्याउने तयारी भएको बताइएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार ‘कोरोना संक्रमण जुन अवस्थामा घट्छ भन्ने अपेक्षा गरिएको थियो त्यो घटेन,’ उनले भने, ‘निषेधाज्ञालाई जारी राखिन्छ तर के(के खुल्न दिने भन्ने निर्णय गछौँ ं।’
सम्भवत आज उपत्यकाभित्रका प्रजिअहरूको बैठक बस्नेछ । उक्त बैठकअगाडि जिल्लास्तरीय कोभिड नियन्त्रण समितिको बैठक बसेर संक्रमणको अवस्थाबारे छलफल हुने उनको भनाई छ ।
सार्वजनिक गाडी, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेसलगायतमा प्रतिबन्ध कायमै छ । अब थप हुने निषेधाज्ञामा सार्वजनिक गाडी खुलाउने÷नखुलाउने भन्नेबारे बैठकबाट निश्चित हुने बताएको छ ।
सरकारले असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने तयारी गरेको छ । निजी सवारी साधनहरू गत सातादेखि नै जोर—बिजोर प्रणालीअनुसार सञ्चालन भइरहेका छन् । कपडालगायत पसल पनि बारअनुसार खोल्न दिइएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञा सोमबार सकिँदैछ ।
