प्रदेशसभा सदस्य वैद्यको विवादस्पद अभिव्यक्ति : कांग्रेसद्वारा आत्मलोचना गर्न निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७८, २९ जेष्ठ

काठमाडौं, २९ जेठ । नेपाली काँग्रेसले बागमती प्रदेशसभाको नीति तथा कार्यक्रमबारे छलफलमा प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ । शुक्रबार साँझ प्रदेश संसदीय दलको नेतृत्वमार्फत प्रदेशसभा सदस्य वैद्यलाई अभिव्यक्तिमा संयम र सजगता राख्न निर्देशन दिएको हो ।
वैधले प्रधानमन्त्री केपी शर्मा ओलीको मनोमानी बढेको भन्दै उनको लागि एक जना नाथुराम गोट्सेको आवश्यकता परेको विवादास्पद अभिव्यक्ति दिएका थिए । नाथुराम गोट्से तिनै व्यक्ति हुन्, जसले भारतमा महात्मा गान्धीको हत्या गरेका थिए ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शबिनार वज्ञप्ति जारी गर्दै वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाउँदै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ’नेपाली कांग्रेस प्रष्ट छ । अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन । आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन ।’
कांग्रेसले पार्टीको नीति र संस्कृतिको पालना गर्नु र सोही बमोजिम आफुलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको कर्तव्य भएको प्रष्ट पार्दै विज्ञप्तिमा भनिएको छ, ‘हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति छैन ।’

प्रतिक्रिया