संसद पुनस्र्थापना गर्न माग राख्दै विपक्षी पाँच गठबन्धनद्वारा सर्वोच्चमा मुद्दा दर्ता
अखबार टुडे
प्रकाशित:
२०७८, १० जेष्ठ

काठमाडौं, १० जेष्ठ । संसद पुनस्र्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै पाँच विपक्षी गठबन्धनका १४६ सांसदहरुले सर्वोच्चमा मुद्दा दायर गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा एवम् र नेकपा एमालेको माधव समूहका सांसदको तर्फबाट सर्वोच्चमा रिट निवेदन दायर भएको हो ।

प्रष्ट बहुमतसहित दाबी गरेका देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगर्नु असंवैधानिक भएको उनीहरुको दाबी छ । संसदमा बहुमत देखाउन सक्दिनँ भनेर वैकल्पिक सरकार गठनका लागि अनुरोध गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्रीमा दाबी गर्न जाने हक नभएको उनीहरुको जिकिर छ ।

विपक्षी दलले दायर गरेको रिटमा तीन बुँदे मागहरु समेटिएका छन् । संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज, संसद अधिवेशनको मिति तोक्नुपर्ने र संविधानको धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश रहेका छन् ।

प्रधानमन्त्रीका लागि देउवासँगै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पेश गरेको दाबीलाई अस्वीकार गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया