बुधबार बिहानै भूकम्प : लमजुङमा घर भत्किँदा केही घाइते
अखबार टुडे
प्रकाशित:
२०७८, ५ जेष्ठ

लमजुङ, ५ जेठ । लमजुङमा बुधबार बिहान गएको भूकम्पमा केही घर भत्किएको छ । घर भत्किँदा केही स्थानीय घाइते भएका छन् । मस्र्याङ्दी गाउँपालिकाको भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु मस्र्याङ्दी गाउँपालिकाका घरहरूमा बढीजसो क्षति पुगेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार भूकम्पपछि मानिसहरू भागाभाग भएको थियो । उनका अनुसार केही घरमा क्षति भएको र केही घाइते भएको जानकारीमा आएको छ । ‘तर यकिन विवरण आउन अझै बाँकी छ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेला अनुसार घर भत्किँदा बेंसीसहर नगरपालिका–६, चनौटेकी ३६ वर्षीया उमा गुरुङ र बेंसीसहर–११, रामचोकबेंसीमा ८७ वर्षीया खोपकुमारी पाण्डे घाइते भएका छन् । दुवैको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको उनले बताए ।

स्थानीयका अनुसार मस्र्याङ्दी गाउँपालिका–६, ठूलीबेंसीमा २२ वर्षीय गोविन्द अधिकारी घाइते भएका छन् । डीएसपी गंगाबहादुर थापाले केही घर भत्किएको र केही घाइते भएको जानकारी आए पनि सबै विवरण आइनसकेको बताए ।

प्रतिक्रिया